मिस ग्लोब २०२५ की विजेता छायानुस “चेरैम” सरादत्त नेपाल आइपुगिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नो ‘एसिया टूर २०२६’ अन्तर्गत वर्तमान मिस ग्लोब विजेता छायानुस “चेरैम” सरादत्त मंगलबार थाइल्याण्डबाट नेपाल आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर एन्ड मिस नेसनल’ का राष्ट्रिय आयोजक सन्तोष उपाध्यायसहित ‘मिस ग्लोब नेपाल’ की विजेताले स्वागत गरेका थिए ।

सरादत्तसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन् । मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । नेपालपछि उनी भारत, फिलिपिन्स र भियतनाम जाने कार्यक्रम रहेको छ ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरादत्तले नेपालका हिमालप्रति आफ्नो विशेष आकर्षण रहेको बताइन् । उनले भनिन्, “पहिलोपटक नेपाल आएकोमा निकै खुसी लागेको छ । यहाँका पर्वत र हिमालबारे धेरै सुनेकी छु, घुम्न निकै उत्साहित छु ।”

सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोब फिनालेमा सरादत्तले थाइल्याण्डलाई उपाधि जिताएकी थिइन् । उनको टोलीको नेपाल बसाइँ पाँच दिनको हुनेछ ।

नेपाल बसाइँका क्रममा उनले काठमाडौं तथा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछन् । साथै, औपचारिक भेटघाट, विद्यार्थीहरूसँग अन्तरक्रिया तथा एक मेडिकल सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सहभागी हुने तालिका रहेको आयोजकले जनाएको छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र सम्भव भए प्रधानमन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । उल्लेखनीय छ, गत वर्ष पनि मिस ग्लोब विजेता डायना मोरेनो नेपाल आएकी थिइन् र ‘मिस नेसनल नेपाल’ को अडिसनमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।