नेपाली फिल्म ‘ऊनको स्विटर’ भारतमा ५१ दिन पूरा, डेढ करोड भारु कमाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली फिल्म ‘ऊनको स्विटर’ ले भारतमा प्रदर्शनको ५१ दिन पूरा गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। भारतभर ४० हलमा रिलिज भएको यो फिल्म हाल विभिन्न सहरका ६ हलमा प्रदर्शनरत रहेको निर्माता पक्षले जनाएको छ।

निर्माताका अनुसार ५१ दिनको अवधिमा फिल्मले डेढ करोड भारतीय रुपैयाँ, अर्थात् करिब २ करोड ४० लाख नेपाली रुपैयाँ कमाइ गरेको छ। ‘कबड्डी ४’ पछि भारतमा प्रदर्शन भएर यति धेरै कमाइ गर्ने यो नेपाली फिल्म उच्च कमाइमध्ये एक बनेको छ।

फिल्म ५१ दिनसम्म लगातार चण्डीगढको पीभीआर सेन्ट्रल, लुधियानाको पीभीआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पीभीआर सहरगन्ज मलमा प्रदर्शन भइरहेको छ।

बलिउड नगरी मुम्बईमा समेत रिलिज भएको यो फिल्मले विशेष गरी नेपालसँग सीमा जोडिएका र नेपालीभाषीको बाहुल्य रहेका भारतीय सहरहरूमा राम्रो व्यापार गरेको देखिएको छ। सरल र भावनात्मक कथावस्तुमा आधारित फिल्मले नेपालमा भने १० करोड ६२ लाख रुपैयाँ ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा उल्लेख छ।

सिनेपाः बक्सअफिसका अनुसार ‘ऊनको स्विटर’ नेपालमा सर्वकालीन धेरै कमाइ गर्ने फिल्महरूको सूचीमा १३ औं स्थानमा परेको छ। मिरुना मगरले निभाएको मुख्य पात्र सिक्किमसँग सम्बन्धित भएकाले पनि नेपालीभाषी भारतीय राज्यहरूमा फिल्मप्रति दर्शकको आकर्षण बढेको अनुमान गरिएको छ।

आर्टमान्डूको ब्यानरमा निर्माण भएको यो फिल्मले सिक्किमको राजधानी गान्तोकबाट भारतमा प्रदर्शन यात्रा सुरु गरेको थियो। त्यसपछि नाम्ची, दार्जिलिङ, कालिम्पोङ, खार्साङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतमा बलियो पकड बनाएको फिल्मले आसाम, अरुणान्चल प्रदेश, कोलकाता, नयाँ दिल्ली हुँदै मुम्बई र दक्षिण भारतसम्म आफ्नो बजार विस्तार गरेको हो।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेललगायत कलाकारको अभिनय रहेको छ। भारतमा एसली प्रोडक्सन र एवन राई समूहले फिल्म रिलिज गरेका हुन्।

फिल्मको सफलतापछि यसको दोस्रो श्रृंखला पनि चाँडै दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्देशक नवीन चौहानले बताएका छन्।