११ वर्षपछि ‘मातृभूमि’ शीर्षकमा नयाँ फिल्म, नरेन्द्र सेन्दाङको अभिनयमा पुनरागमन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

करिब ११ वर्षपछि ‘मातृभूमि’ शीर्षकमा फेरि एकपटक नेपाली फिल्म निर्माण हुने भएको छ। नाट्यकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङले निर्माण गर्न लागेको यस फिल्मको कथा तथा निर्देशन दिनेश लिङ्देनले गर्नेछन्। फिल्मको छायांकन काठमाडौं र पाँचथरसँगै अमेरिकाको टेक्सास र न्युयोर्कमा हुने जनाइएको छ। केही दिनमै मुहूर्त गरेर छायांकन सुरु गर्ने तयारी गरिएको छ।

विदेशमा बस्ने नेपालीहरूको कथाव्यथा र स्वदेशप्रतिको माया मुख्य विषयवस्तु बनाएर फिल्म निर्माण गरिँदैछ। यस फिल्ममा नरेन्द्र सेन्दाङ स्वयं मुख्य भूमिकामा देखिनेछन्। करिब एक दशकपछि उनी अभिनयमा पुनरागमन गर्न लागेका हुन्। अन्य कलाकार तथा प्राविधिकको टुंगो भने लाग्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ। फिल्मकी कार्यकारी निर्माता कविता राई रहेकी छन्।

मोरङको उर्लाबारीमा जन्मिएका नरेन्द्र सेन्दाङ व्यवसायका सिलसिलामा हङकङ हुँदै हाल अमेरिकाको टेक्सासमा बस्दै आएका छन्। बाल्यकालदेखि नै नृत्य र साहित्यमा रुचि राख्ने सेन्दाङले यसअघि ‘तिम्रै म हो नि’, ‘भेडिगोठ’, ‘पायल’ र ‘फेक फ्रेण्ड’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। साथै, उनले अभिनेता राजेश हमाललाई लिएर ‘बगर’ नामक फिल्म पनि निर्माण गरेका थिए।

‘मातृभूमि’ मार्फत विदेशमा रहेका नेपालीको भावना र मातृभूमिप्रतिको प्रेमलाई पर्दामा उतार्ने प्रयास गरिने निर्माण पक्षको भनाइ छ।