प्रदीप खड्काको ‘एक्लो’ बक्स अफिसमा असफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुपरस्टारको रूपमा चिनिएका अभिनेता प्रदीप खड्कालाई पछिल्लो दुई वर्षयता व्यावसायिक सफलता मिल्न सकेको छैन। २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘पूजार सार्की’पछि उनका फिल्महरू लगातार बक्स अफिसमा कमजोर सावित भइरहेका छन्। अब यो सूचीमा फिल्म ‘एक्लो’ पनि थपिने निश्चित देखिएको छ।

करिब ३ करोड रुपैयाँभन्दा बढी लगानीमा बनेको ‘एक्लो’ले घरेलु बक्स अफिसमा ५० लाख रुपैयाँसमेत कमाउन सकेको छैन। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार फिल्मले पुष २६ गते शनिबारसम्म ४३ लाख २५ हजार ४९८ रुपैयाँ ग्रस कमाएको छ। यस अवधिमा फिल्मका जम्मा १३ हजार ११ वटा टिकट मात्र बिक्री भएका छन्। सोमबारसम्म फिल्मले अधिकतम ४५ लाख रुपैयाँ हाराहारी कमाएको अनुमान गरिएको छ, जसले गर्दा लगानी उठ्ने सम्भावना न्यून देखिएको छ।

उता, पुष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले भने एक करोड रुपैयाँको आँकडा पार गरेको छ। बोर्डका अनुसार ३५ हजार ८४२ वटा टिकट बिक्री गर्दै फिल्मले १ करोड १२ लाख ३८ हजार ९०४ रुपैयाँ ग्रस आम्दानी गरेको छ। तर करिब ३ करोड रुपैयाँ लागत रहेको यो फिल्मले पनि लगानी फिर्ता गर्ने सम्भावना कम देखिएको छ।

यसैगरी, पुष १० गते प्रदर्शन भएको फिल्म ‘मुगलान’ले २ हजार ४०० टिकट बिक्री गर्दै ६ लाख ३१ हजार ९४४ रुपैयाँ ग्रस कमाएको छ। यसको विपरीत, कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परान’ले भने बक्स अफिसमा एकछत्र वर्चस्व कायम गरेको छ। हालसम्म ‘परान’ले १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँ ग्रस व्यापार गर्दै यस वर्षको सर्वाधिक कमाउने फिल्मको रूपमा आफूलाई स्थापित गरिसकेको छ। फिल्म अझै केही हलमा प्रदर्शनरत रहेको छ।

समग्रमा हेर्दा, नेपाली बक्स अफिसमा ‘परान’को दबदबा कायमै रहँदा प्रदीप खड्काका पछिल्ला फिल्महरू भने अपेक्षित सफलता पाउन असफल भइरहेका छन्।