चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शनरत चलचित्रहरूको बक्स अफिसको आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ। बोर्डका अनुसार पुस २० गतेदेखि २६ गते मध्यरातसम्मको अवधिमा प्रदर्शनमा रहेका चार चलचित्र—परान, झरी पछिको इन्द्रेणी, एक्लो र मुगलान—को कारोबार विवरण सार्वजनिक गरिएको हो।
चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपाः@बक्स अफिस’ को तथ्याङ्कअनुसार बाइस्कोप सिनेमा ब्यानरमा निर्माण भई कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र परान ले आक्रामक कमाइ गर्दै प्रतिस्पर्धी सबै चलचित्रलाई ठूलो अन्तरले पछि पारेको छ। छोटो प्रदर्शन अवधिमै परानले नेपाली बक्स अफिसमा स्पष्ट वर्चस्व कायम गर्न सफल भएको देखिन्छ।
हालसम्म परानले ६ लाख २९ हजार ६ सय ९० टिकट बिक्री गर्दै १७ करोड ७४ लाख २२ हजार १ सय ९० रुपैयाँ आम्दानी गरेको छ। यो कमाइ हाल प्रदर्शनरत अन्य सबै चलचित्रहरूको संयुक्त आम्दानीभन्दा समेत कैयौँ गुणा बढी रहेको छ।
कमाइको सूचीमा दोस्रो स्थानमा रहेको झरी पछिको इन्द्रेणी ले ३५ हजार ८ सय ४२ टिकट बिक्री गर्दै १ करोड १२ लाख ३८ हजार ९ सय ४ रुपैयाँ संकलन गरेको छ। तेस्रो स्थानमा रहेको एक्लो ले दोस्रो सातासम्म १ हजार ३ सय ११ टिकट बिक्री गर्दै ४३ लाख २५ हजार ४ सय ९८ रुपैयाँ आम्दानी गरेको छ। यस्तै, मुगलान ले २ हजार ४ सय टिकट बिक्री गरी ६ लाख ३१ हजार ९ सय ४४ रुपैयाँ आम्दानी गर्दै सूचीको अन्तिम स्थानमा रहेको छ।
समग्रमा हेर्दा, हालको नेपाली चलचित्र बजारमा परान ले बक्स अफिसमा एकलौटी राज गरिरहेको छ भने अन्य चलचित्रहरूले अपेक्षाअनुसारको व्यापार गर्न सकेका छैनन्। यसले दर्शकको रोजाइ र बजारको झुकाव परानतर्फ स्पष्ट रूपमा केन्द्रित भएको संकेत गर्दछ।







प्रतिक्रिया