यशको जन्मदिनमा ‘टक्सिक’ को धमाकेदार एक्सन टिजर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण भारतीय सुपरस्टार यशले विहिबार आफ्नो जन्मदिन मनाइरहेका बेला उनको आगामी बहुप्रतीक्षित फिल्म ‘टक्सिक’ को एक्सनप्रधान टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। २ मिनेट ५१ सेकेन्ड लामो टिजर स्टाइलिस र उच्च स्तरको एक्सनले भरिएको देखिन्छ, जसले दर्शकको उत्साह थप बढाएको छ।

टिजर हलिउड स्टाइलमा निर्माण गरिएको छ भने यशको खतरनाक लुक्सले सबैको ध्यान खिचेको छ। टिजरको अन्त्यतिर मात्रै देखिए पनि यशको उपस्थितिले नै फिल्म ब्लकबस्टर हुने संकेत दिएको छ। ‘केजीएफ २’ पछि यश लामो समयपछि ‘टक्सिक’ मार्फत ठूलो पर्दामा फर्किन लागेका हुन्।

गितु मोहनदासको निर्देशनमा बनेको ‘टक्सिक’ ग्याङस्टर–एक्सन थ्रीलर फिल्म हो। सन् १९४० देखि १९७० को दशकसम्मको समयरेखामा गोवामा सेट गरिएको यस फिल्मको कथा गोवाको जीवन्त सांस्कृतिक अनुहार पछाडि लुकेको शक्तिशाली लागूऔषध कार्टेलको वरिपरि घुम्छ।

फिल्ममा यशले रायको भूमिका निभाएका छन् भने नयनताराले गंगा, कायरा आडवाणीले नादिया, हुमा कुरेशीले एलिजाबेथ, तारा सुतरियाले रेबिका र रुक्मिणी वसन्तले मेलिसा पात्रको भूमिका निर्वाह गरेका छन्।

हलिउडको चर्चित एक्सन फिल्म ‘जोन विक’ का एक्सन कोरियोग्राफर जेजे पेरीले ‘टक्सिक’ को एक्सन निर्देशन गरेका हुन्। साथै ‘इन्सेप्सन’ र ‘ड्यून’ जस्ता फिल्ममा भीएफएक्स गरेको हलिउड कम्पनी डीएनइजीले यस फिल्मको भीएफएक्स सम्हालेको छ।

केभीएन प्रोडक्सन र मोन्स्टर माइन्ड क्रिएसन्सको ब्यानरमा वेंकट के नारायण र यश स्वयंले निर्माण गरेको ‘टक्सिक’ आगामी मार्च १९, २०२६ (५ चैत, विहीबार) मा प्रदर्शनमा आउनेछ।