एलोन मस्कको स्वामित्वमा रहेको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवाले फेब्रुअरी ३ सम्म भेनेजुएलामा नागरिकलाई निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट पहुँच उपलब्ध गराउने भएको छ। काराकससहित देशका विभिन्न भागमा ठूलो मात्रामा इन्टरनेट अवरुद्ध भएपछि स्टारलिंकले यस्तो निर्णय गरेको हो।
हालै भएका अमेरिकी सैन्य कारबाहीका क्रममा बिजुली आपूर्ति अवरुद्ध हुँदा भेनेजुएलामा इन्टरनेट सेवा गम्भीर रूपमा प्रभावित भएको बताइएको छ। यही अवस्थालाई मध्यनजर गर्दै स्टारलिंकले आपतकालीन रूपमा निःशुल्क सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
भेनेजुएला राष्ट्रपति निकोलस मादुरोको सरकारअन्तर्गत लामो समयदेखि अनलाइन सेन्सरशिपको सामना गर्दै आएको छ। फेसबुक, युट्युब, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरू समय–समयमा अवरुद्ध हुने गरेका छन्।
स्टारलिंकले यो महत्वपूर्ण अवधिमा भेनेजुएलाका नागरिकलाई एक–आपसमा सम्पर्कमा रहन, समाचार प्राप्त गर्न, सामाजिक सञ्जाल प्रयोग गर्न तथा आवश्यक अनलाइन सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ।









प्रतिक्रिया