बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आइसीसी टी–२० विश्वकप खेल्न भारत नआउने निर्णय गरेको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आइपिएलबाट बंगलादेशी खेलाडीलाई हटाउन निर्देशन दिएपछि बंगलादेशले यस्तो कदम चालेको हो।
बीसीसीआईको निर्देशनपछि आइपिएल फ्रान्चाइजी कोलकाता नाइट राइडर्सले बंगलादेशी फास्ट बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएको थियो। त्यसपछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै बीसीबीले भारतमा आफ्ना खेल खेल्नु असुरक्षित हुने भन्दै आईसीसीलाई बंगलादेशका सबै विश्वकप खेल सह–आयोजक राष्ट्र श्रीलंकामा सार्न औपचारिक अनुरोध गरेको जनाएको छ।
बीसीबीले विज्ञप्तिमा पछिल्ला २४ घण्टाको घटनाक्रमले टोलीको सुरक्षा र समग्र वातावरणप्रति गम्भीर चिन्ता बढाएको उल्लेख गरेको छ। यसअघि बंगलादेशको अन्तरिम सरकारका खेलकुद मन्त्रीले पनि बीसीबीलाई खेलहरू श्रीलंकामा आयोजना गर्न आईसीसीसँग अनुरोध गर्न निर्देशन दिएका थिए।
तालिकाअनुसार बंगलादेशले चार लिग खेलमध्ये तीन कोलकातामा र एक मुम्बईमा खेल्ने थियो। बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग, फेब्रुअरी ९ मा इटालीसँग र फेब्रुअरी १४ मा इङ्ग्ल्याण्डसँग कोलकातामा तथा फेब्रुअरी १७ मा नेपालसँग मुम्बईमा खेल्ने कार्यक्रम तय भएको छ।
तर, बीसीसीआईले भने खेलको ढाँचा परिवर्तन गर्न नसकिने प्रतिक्रिया दिएको छ। सबै टोलीका हवाई टिकट र होटल बुक भइसकेको तथा दैनिक तीन खेल हुने भएकाले खेल स्थान सार्न सम्भव नरहेको बीसीसीआईको भनाइ छ।
यो सम्पूर्ण विवाद मुस्ताफिजुर रहमानलाई आइपिएलबाट बहिष्कार गरेपछि सुरु भएको हो। कोलकाता नाइट राइडर्सले उनलाई गत महिना मिनी अक्सनमा ९ करोड २० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो।







प्रतिक्रिया