राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा उनको नाम समावेश भएपछि चौतर्फी विरोध सुरु भएको थियो। यही विरोधपछि ढकालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्।
ढकालले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश यसपटक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन्। साथै, युवाको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने बताएका छन्।
उनले आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको उल्लेख गर्दै नवयुवाहरू अघि बढिरहेको परिवेशमा आफूलाई समानुपातिक सूचीमा समावेश गरेकोमा पार्टी नेतृत्वप्रति आभार प्रकट गरेका छन्।
साथै, सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासमा सधैं साथ र सहयोग रहने ढकालले बताएका छन्।
सचिन ढकाल व्यवसायी चन्द्र ढकालका छोरा हुन्। उनी स्वयं पनि पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा व्यवसाय गर्दै आएका छन्।







प्रतिक्रिया