वनभोजमा हेलिकप्टर चढेर पुगेका बागमती मुख्यमन्त्री बानियाँ सामाजिक सञ्जालमा आलोचित, सचिवालयद्वारा स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टर चढेर वनभोज कार्यक्रममा पुगेपछि सामाजिक सञ्जालमा चर्को आलोचनामा परेका छन् । नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवले बिहीबार आयोजना गरेको वनभोजमा मुख्यमन्त्री बानियाँ हेटौंडाबाट माउन्टेन एयरको हेलिकप्टर प्रयोग गरी सहभागी भएका थिए । उक्त घटनासँग सम्बन्धित भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना सुरु भएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राज्यको स्रोत दुरुपयोग गरिएको, नेताहरूको विलासी जीवनशैली देखिएको तथा आम जनता आर्थिक संकटमा रहेको बेला यस्तो देखावटी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । कतिपयले यस घटनालाई प्रदेश संरचना खारेज गर्नुपर्ने उदाहरणका रूपमा समेत प्रस्तुत गरेका छन् ।

यसैबीच, बढ्दो आलोचनापछि मुख्यमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ । प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले शुक्रबार जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री बानियाँ हेलिकप्टर आफ्नै व्यक्तिगत खर्चमा प्रयोग गरी वनभोजमा गएको दाबी गरिएको छ ।

सचिवालयका अनुसार मुख्यमन्त्रीको कार्यतालिका अत्यन्त व्यस्त रहेकाले समय व्यवस्थापनका लागि हेलिकप्टर प्रयोग गर्नुपरेको हो । सोही दिन सिन्धुपाल्चोकको मेलम्ची–९, गुफा डाँडामा आयोजित छैटौँ जलवायु सम्मेलनमा सहभागी भई पुनः सिराहा पुग्नुपर्ने भएकाले सडक मार्गबाट यात्रा समयमै सम्भव नभएपछि बाध्यात्मक अवस्थामा निजी खर्चमा हेलिकप्टर चार्टर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले केही व्यक्ति र समूहले मुख्यमन्त्रीको सकारात्मक कामलाई ओझेलमा पार्न चरित्रहत्या गर्ने उद्देश्यले नकारात्मक सन्देश फैलाइरहेको आरोप लगाएको छ । साथै सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलाउनु साइबर अपराध भएकाले यस्ता गलत सामग्रीको प्रसारण नगर्न आग्रह गरिएको छ । सञ्चार माध्यमलाई पनि सत्य–तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गरेदेखि नै आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउँदै आएको दाबी गरिएको छ । मुख्यमन्त्रीले सरकारी निवासको खर्चदेखि सवारी साधनको इन्धनसम्म निजी खर्चमा बेहोर्दै आएको तथा आफ्नै सुविधा रकमबाट विपन्न परिवारका लागि घर निर्माण गरिदिएको उदाहरणसमेत सचिवालयले प्रस्तुत गरेको छ ।