त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सबै सेवा अनलाइनबाट लिन विद्यार्थीलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले परीक्षासँग सम्बन्धित सम्पूर्ण सेवाहरू अनलाइनमार्फत लिन विद्यार्थीहरूलाई आग्रह गरेको छ। बिहीबार सूचना जारी गर्दै पनिकाले विद्यार्थीहरूको सहजताका लागि स्टुडेन्ट पोर्टल प्रयोग गरी विभिन्न सेवाहरू अनलाइनबाट लिन अनुरोध गरेको हो।

पनिकाका अनुसार अनलाइन फारम भर्दा जुनसुकै स्थानबाट पनि सजिलै आवेदन दिन सकिनेछ भने लामो समय लाइन बस्नुपर्ने बाध्यताबाट समेत छुटकारा मिल्नेछ। विद्यार्थीले आफैं विवरण भर्दा गल्तीको सम्भावना कम हुने र तथ्याङ्कहरू थप सुरक्षित रहने विश्वास लिइएको पनिकाले जनाएको छ।

अनलाइन रजिस्ट्रेसनका लागि आवेदन दिन सम्बन्धित कलेजबाट विद्यार्थीको परिचयपत्र बनेको हुनुपर्ने व्यवस्था गरिएको छ। ट्रान्सक्रिप्ट तथा प्रोभिजनल सर्टिफिकेटका लागि आवेदन दिँदा सम्पूर्ण मार्कशिट र रजिस्ट्रेसन कार्ड पीडीएफ फर्म्याटमा तयार गरी अपलोड गर्नुपर्नेछ।

रिटोटलिङ सेवाका लागि परीक्षाको नतिजा सार्वजनिक भएको १५ दिनभित्र अनलाइन फारम भरिसक्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, सन् २०२३ देखि रजिस्ट्रेसन भएका विद्यार्थीहरूले परीक्षा फारमसमेत अनलाइन माध्यमबाट भर्न सक्नेछन्। यी सबै सेवाका लागि स्टुडेन्ट पोर्टलमा साइन इन गरी ‘Other Services’ विकल्प प्रयोग गर्नुपर्नेछ।

दीक्षान्त प्रमाणपत्रका लागि भने स्टुडेन्ट पोर्टलकै ‘Convocation Services’ सेक्सनमार्फत अनलाइन फारम भर्न सकिने व्यवस्था गरिएको पनिकाले जानकारी दिएको छ।