जापानले शनिबार ओकिनावा नजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा आफ्ना लडाकु विमानको फायर कन्ट्रोल राडारलाई चिनियाँ लडाकु विमानले लक गरेको आरोप लगाएको छ। जापानी रक्षा मन्त्रालयका अनुसार चिनियाँ ‘जे–१५’ फाइटर जेटले जापानको एयर सेल्फ डिफेन्स फोर्सको विमानलाई दुई पटक फायर कन्ट्रोल राडार लक गरेको हो। यद्यपि सो घटनामा कुनै क्षति भएको छैन।
जापानले यस घटनालाई लिएर चीनसँग कडा आपत्ति प्रकट गरेको छ। जापानी अधिकारीका अनुसार, फायर कन्ट्रोल राडार लक युद्धका क्रममा क्षेप्यास्त्र प्रहार गर्नु अघि हुने चरण हो, जसले लक्ष्य निर्धारणको तयारी संकेत गर्दछ।
चीनले भने जापानको आरोपलाई अस्वीकार गर्दै आफ्नो पक्ष प्रस्तुत गरेको छ। चीनको दावी अनुसार जापानी लडाकु विमानले उनीहरूको सैन्य अभ्यासको समयमा पटक–पटक घुसपैठ गरेको थियो।
चीन र जापानबीच सम्बन्ध पछिल्लो समय थप चिसिएको छ। ताइवानको विषयले दुवै मुलुकबीच तनाव बढाएको हो। जापानी प्रधानमन्त्रीले चीनद्वारा ताइवानमा सैन्य कारबाही भएमा आफ्नो सेनालाई खटाउने चेतावनी दिएपछि चीनले कडा आपत्ति जनाएको थियो। चीन ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ।







प्रतिक्रिया