एनपीएलमा १२–१२ विकेटसहित चार नेपाली बलरको कडा प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रिमियर लिग (एनपीएल) मा ३२ मध्ये २५ खेल सकिँदा बलिङमा नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शन देखिएको छ। चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई अविनास बोहरा, साहब आलम र करण केसीले समान विकेट लिएर कडा प्रतिस्पर्धा दिइरहेका छन्। २४ खेलको समाप्तिमा यी चारै बलरले १२–१२ विकेट लिएर शीर्ष स्थानमा रहेका छन्। रनरेटका आधारमा सन्दीप पहिलो, अविनास दोस्रो, साहब आलम तेस्रो र करण केसी चौथो स्थानमा छन्।

सन्दीपले ६ खेलमा २४ ओभर बलिङ गर्दै १२३ रन खर्चेर १२ विकेट लिएका हुन्। अविनासले १९ ओभर एक बलमा ११५ बल फाल्दै १३४ रन खर्चेर १२ विकेट हात पारेका छन्। सात खेल खेलेका साहब आलमले २४ ओभरमा १५२ रन दिएर १२ विकेट लिएका छन् भने करण केसीले २७ ओभर १ बलमा १९८ रन खर्चेर १२ विकेट हासिल गरेका छन्। रोचक रूपमा, १२ विकेट लिने चारै नेपाली खेलाडी रहेका टिमहरू प्लेअफमा प्रवेश गरिसकेका छन्। सन्दीप विराटनगरका कप्तान हुन्, करण काठमाडौँका कप्तान, अविनास सुदूरपश्चिमबाट खेल्छन् र साहब आलम काठमाडौँका बलर हुन्। साहब आलमले चितवनविरुद्ध ह्याट्रिक सिद्ध गर्दै एउटै खेलमा ६ विकेट लिएर एनपीएलमा नयाँ रेकर्ड बनाएका छन्। बलिङमा नेपाली खेलाडीको बलियो उपस्थिति देखिँदा ब्याटिङतर्फ भने विदेशी खेलाडी अगाडि देखिएका छन्।