सौगात मल्ल र सृष्टि श्रेष्ठ लामो समयपछि पुनः एकसाथ फिल्मी पर्दामा देखिने भएका छन् । उनीहरूको अभिनय रहेको फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
ट्रेलरले सामाजिक सञ्जालमा भाइरल बन्ने चाहनामा मुख्य पात्र गोर्खे (सौगात मल्ल) ले गर्ने संघर्ष र जोखिमपूर्ण यात्रालाई देखाउँछ । टिकटक र युट्युबमा धेरै भ्युज पाउने लक्ष्यसहित गोर्खेले गर्ने अनौठा हर्कतले उसलाई चर्चित बनाउँछ, तर त्यससँगै उसले वास्तविक जीवनका कठोर यथार्थको सामना गर्नुपर्छ ।
रिल र रियल लाइफबीचको अन्तरविरोधलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको फिल्मले पछिल्लो समय नेपाली समाजमा बढ्दो ‘भाइरल’ बन्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ ।
फिल्मको निर्देशन निगम श्रेष्ठले गरेका हुन् । यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका श्रेष्ठले यस फिल्ममा पनि आफ्नो विशिष्ट शैली प्रस्तुत गरेका छन् । समसामयिक र घरघरको विषय भएकाले दर्शकले फिल्म मन पराउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला र मिस पबिको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मका सहनिर्माता शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल हुन् भने कार्यकारी निर्माता निर्वाना फिल्म स्कुल र केदार श्रेष्ठ रहेका छन् ।
फिल्म ‘भाइरल गोर्खे’ आगामी १ माघदेखि प्रदर्शनमा आउने तयारीमा छ।







प्रतिक्रिया