सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा राजनीतिमा आमूल परिवर्तनको आवश्यकता रहेको बताएका छन् । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा पोखरामा आयोजित विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचनतर्फ मुलुक अघि बढिसकेको अवस्थामा सही र विवेकशील नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचन सुनिश्चित भइसकेको उल्लेख गर्दै आजै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाउने विश्वास व्यक्त गरे । “व्यक्ति बनेर मात्र हुँदैन, देश बन्नुपर्छ,” उनले भने, “यसका लागि सही सोच र विवेकयुक्त नेतृत्व आवश्यक छ ।”
सङ्घ र प्रदेशबीच अस्थिरता रहेको उल्लेख गर्दै मन्त्री खरेलले सङ्घीयताको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको बताए । स्थानीय सरकार नै राजनीतिको जग भएको भन्दै उनले स्थानीय तह जबाफदेही भए मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पारे ।
उनले पेसागत सक्रियतासँगै परिणाम देखिने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय सरकारको अनुभूति जनताले प्रत्यक्ष रूपमा गर्न पाउनुपर्ने बताए । साथै विज्ञापनसम्बन्धी नीति सुधारका लागि सरकार सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै यसको व्यवस्थापन, अनुगमन र नियमनका लागि कानुनको प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विज्ञापन ऐनअनुसार कानुनलाई सक्रिय बनाउन सरकार लागिपरेको जानकारी दिइन् । सबै स्थानीय तहमा पालिका हुलाक कार्यालय सञ्चालनमा ल्याइएको बताउँदै उनले त्यसलाई प्रभावकारी बनाउन स्थानीय तहको सहयोग आवश्यक रहेको भनिन् ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन प्रणालीलाई प्रभावकारी बनाउन बोर्ड निरन्तर क्रियाशील रहेको बताए । प्रदेश प्रमुख सचिव डुण्डुराज घिमिरेले विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने आवश्यकता औँल्याए भने गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले विज्ञापनसम्बन्धी विधि र मापदण्डमा एकरूपता ल्याउनुपर्नेमा जोड दिइन् ।







प्रतिक्रिया