सांसद डा. अञ्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय सभाकी सांसद डाक्टर अञ्जान शाक्यको स्वरमा रहेको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ।

गीतमा कलाकार सरोज खनाल र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ। डाक्टर शाक्यले स्वर दिएको उक्त गीतमा संगीत डा. अञ्जान शाक्य र इञ्जिनियर सञ्जय शाक्यको रहेको छ भने शब्द सञ्जय शाक्यले लेखेका हुन्। म्युजिक भिडियोको निर्देशन देवकुमार श्रेष्ठले गरेका छन्।

डा. शाक्यले यसअघि ‘रोज’, ‘बहार’, ‘श्रष्टापुष्प’, ‘अञ्जानपथ’ लगायतका एकल एल्बम तथा दर्जनभन्दा बढी कलेक्सन एल्बममा गीत गाइसकेकी छन्। करिब २२ वर्षअघि उनले ‘शिरीष’ नामक एल्बम सार्वजनिक गरेकी थिइन्।

विद्यावारिधिको अध्ययन र व्यावसायिक काममा व्यस्त बनेपछि उनी लामो समय गीत–संगीत क्षेत्रबाट टाढा रहेकी थिइन्। झण्डै २२ वर्षको अन्तरालपछि ‘मेरो गीत भित्र’ मार्फत उनी पुनः गीत–संगीतको यात्रामा फर्किएकी हुन्।

इजरायलका लागि नेपाली राजदूतको जिम्मेवारी पूरा गरी फर्किएपछि पुनः गजल र गीत गाउने चाहना जागेको डा. शाक्यले बताइन्। उनले भनिन्, “मनपर्ने शब्द खोज्ने क्रममा अपेक्षाअनुसार नभएपछि केही समय लाग्यो। मेरो श्रीमान् डा. अजयक्रान्ति मात्र होइन, उहाँको परिवार नै गीत–संगीत र साहित्यप्रति रुचि राख्ने परिवार हो।”

उनले थपिन्, “श्रीमानका दाइ इञ्जिनियर सञ्जय शाक्य गीत–संगीतप्रति अत्यन्तै उत्साही हुनुहुन्थ्यो। उहाँलाई राम्रो शब्द लेख्न प्रोत्साहन गर्थें। उहाँले शब्द लेखेपछि म ती शब्दमा संगीत भर्ने मात्र होइन, गीत गाउने रहर पनि राखेकी थिएँ। यही उत्साहले ‘मेरो गीत भित्र’ तयार भयो।”

लामो अन्तरालपछि सार्वजनिक भएको यो गीतलाई दर्शक–श्रोताले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ।