पम्फा भुसालद्वारा फागुन २१ को निर्वाचन नलड्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट उम्मेदवारी नदिने घोषणा गरेकी छन्। आइतबार सार्वजनिक धारणा राख्दै नेतृ भुसालले आफू तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला उम्मेदवार भएको उल्लेख गर्दै पटक–पटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको बताइन्।

उनले यसपटक आफू उम्मेदवार नबनेर पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने स्पष्ट पारिन्। भुसालका अनुसार, ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बन्न प्रस्ताव आए पनि ती सबै प्रस्ताव आफूले स्वीकार नगरेको बताइन् र प्रस्ताव गर्ने सबैलाई धन्यवाद दिइन्।

काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु चुनौतीपूर्ण हुने उल्लेख गर्दै उनले आफूले हासिल गरेको राजनीतिक अनुभव र सिकाइ अब पार्टीभित्र संस्थागत रूपमा प्रयोग गर्नुपर्ने समय आएको धारणा राखिन्। साथै, यसपटक अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याउनुपर्नेमा उनले जोड दिइन्।

नेतृ भुसालले अपवादबाहेक यसपटक पहिल्यै अवसर पाइसकेका नेताहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुने आफ्नो मतसमेत सार्वजनिक गरेकी छन्।