बालेन–रविको सहमति अनौठो होइन : कांग्रेस उपसभापति धनराज गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीचको सहमति राजनीतिमा कुनै अनौठो विषय नभएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपसभापति गुरुङले रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच भएको सहमति स्वाभाविक राजनीतिक प्रक्रिया भएको टिप्पणी गरे। उनले राजनीतिमा को–को मिल्छन्, को–को फुट्छन् भन्ने विषय कांग्रेसका लागि चासोको विषय नभएको स्पष्ट पारे।

राजनीतिमा जुट्ने र छुट्टिने क्रम निरन्तर चलिरहने उल्लेख गर्दै उनले यस्ता घटनालाई अनौठो रूपमा लिन नहुने बताए। गुरुङले कांग्रेसले इतिहासमा धेरै किसिमका चुनौतीहरूको सामना गरिसकेको भन्दै अहिलेको राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको धारणा व्यक्त गरे।

उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन। राजनीतिमा को–को मिल्छन्, को–को फुट्छन् भन्ने भइरहन्छ। राजनीति सरल ढंगले अघि बढ्दैन, यो चुनौतीहरूको खेल हो। कांग्रेसले राणाकालीन र पञ्चायती चुनौतीहरू पनि सामना गरिसकेको छ।’

उपसभापति गुरुङले राजनीतिमा अनेक खालका चुनौती आउने भए पनि कांग्रेस ती सबैको सामना गर्न सक्षम रहेको दाबी गरे।