निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउने सरकारको दृढता, दलहरूसँग वार्ता निरन्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने स्पष्ट चाहना र दृढता राखेकाले सबै राजनीतिक दलहरूसँग निरन्तर वार्ता र छलफल अघि बढाइरहेको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की स्वयंले पनि प्रत्यक्ष तथा परोक्ष रूपमा राजनीतिक भेटवार्तालाई अघि बढाइरहेको जानकारी दिए।

मन्त्री खरेलका अनुसार संयोजक दाहालले निर्वाचनको कुनै विकल्प नरहेको दोहोर्‍याउँदै तोकिएको मितिमै चुनाव हुनुपर्नेमा जोड दिएका छन्। उनले सबै पक्षीय, सर्वदलीय तथा मुख्य राजनीतिक दलसँग संवाद भइसकेको र दलका कार्यालयदेखि नेताहरूका निजी निवाससम्म पुगेर छलफल गरिएको बताए। वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै निर्वाचन सम्पन्न गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाइ छ।

सरकारले एकल, समूह, युवा, जेन–जी प्रतिनिधि तथा सुरक्षा निकायसँग पनि निरन्तर भेटघाट गर्ने योजना बनाएको जनाउँदै मन्त्री खरेलले निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भइसकेको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतामा प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

उनका अनुसार प्रमुख तीन दलका शीर्ष नेताहरूले आफूहरू चुनाव विरोधी नभएको, लोकतन्त्रका लागि चुनाव अपरिहार्य रहेको र ताजा जनादेश लिनु नै उपयुक्त बाटो भएको स्पष्ट धारणा व्यक्त गरेका छन्। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावको विकल्प नरहेको बताएका छन् भने नेकपातर्फबाट पनि अबको यात्रा चुनाव नै भएको स्पष्ट पारिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने चुनावमा जानुपर्ने तर त्यसका लागि सुरक्षित वातावरण आवश्यक रहेको चासो व्यक्त गरेका छन्।

दलहरूबाट व्यक्त भावनाअनुसार सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता जनाउँदै मन्त्री खरेलले आशावादी हुँदै भने, “शीर्ष नेताहरूसँगको भेटपछि फागुन २१ गते चुनाव हुन्छ र सबै राजनीतिक दल चुनावमा सहभागी हुन्छन्।”