यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग ७ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ। सोमबार दुबईमा भएको समूह चरणको खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भयो। यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग हारेको थियो।

लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ। आज श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेमा नेपाल अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिनेछ।

नेपालले दिएको १३१ रनको लक्ष्य बंगलादेशले २४.५ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका ओपनर जवाद अबरारले उत्कृष्ट प्रदर्शन गर्दै ६८ बलमा ७ चौका र ३ छक्कासहित अविजित ७० रन बनाए। सुरुवातमा नेपालले दुई विकेट लिए पनि त्यसपछि बंगलादेशी ब्याटरहरूले खेल नियन्त्रणमा लिएका थिए।

नेपालका बलर युवराज खत्री र अभिषेक खत्रीले समान १–१ विकेट लिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ३१.१ ओभरमा १३० रनमै अलआउट भयो। नेपालका लागि अभिषेक तिवारीले ३० रन बनाए भने आशिस लुहारले २३ रन जोडे। अन्य नेपाली ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, अजिजुल हाकिम र शाहरिअर अहमदले २–२ विकेट झारे।

अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ। आज अफगानिस्तानले जित निकालेमा नेपालको सेमिफाइनल सम्भावना जीवित रहनेछ, जसका लागि नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई अनिवार्य रूपमा पराजित गर्नुपर्नेछ।