मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट: पीआर’को प्रिमियर बुधबार बेलुका क्यूएफएक्स सामाखुसीको सिटी स्क्वायर हलमा सम्पन्न भयो। प्रिमियरमा पत्रकारदेखि कलाकार तथा फिल्मकर्मीहरूको उल्लेख्य उपस्थिति रह्यो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठलगायत थुप्रै चर्चित अनुहार उपस्थित थिए।
अभिनेत्री रेखा थापाले फिल्म निकै राम्रो बनेको र नयाँ कलाकारहरूको अभिनय मन परेको प्रतिक्रिया दिइन्। बोर्ड अध्यक्ष दिनेश डीसीले पनि निर्देशक शोभित बस्नेतको निर्देशन र कलाकारहरूका भूमिका उत्कृष्ट रहेको बताए। अभिनेता सलिनमान बनियाँले ‘डेब्यु फिल्मका कलाकारहरूले प्रशंसनीय काम गरेका छन्’ भन्दै तारिफ गरे।
निर्देशक शोभित बस्नेतले प्रिमियरमा दर्शकले दिएको सकारात्मक प्रतिक्रिया आफ्नो टिमका लागि ठूलो प्रेरणा भएको बताए। ‘हलभित्र छिर्दा कसैले नचिनेका कलाकारहरू बाहिर निस्कँदा दर्शकको वाहवाही पाउनु खुशीको क्षण हो,’ उनले भने।
फिल्मले नेपाली युवाले अस्ट्रेलियामा स्थायी आवासीय पत्र (पीआर) पाउन सामना गर्नुपर्ने कठिनाई, संघर्ष र घरको आर्थिक बोझ जस्ता यथार्थ विषय उठाएको छ। केही दृश्यहरूले आफू भावुक बनेको रेजिना उप्रेतीले बताउँदै विदेशमा नेपालीले भोग्ने पीडा फिल्मले प्रस्ट देखाएको प्रतिक्रिया दिइन्।
आरए सुरज पौडेल र विनिता कार्कीको मुख्य भूमिका रहेको यो फिल्ममा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्रीलगायतको अभिनय छ। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का र दिक्पाल कार्की पनि देखिन्छन्। फिल्मको कथा गणेश बुढाथोकीले लेखेका हुन् भने छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्।







प्रतिक्रिया