किताब जात्रामा मन्त्री जगदीश खरेल : ‘चुनाव गर्दै सुशासनको अनुभूति गराउने सरकारको प्रतिबद्धता’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन निष्पक्ष र सुशासनमुखी बनाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पुलिस क्लबमा किताब जात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ कार्यक्रममा सम्बोधन गर्दै उनले संवेदनशील समयमा सरकार जिम्मेवारीपूर्वक अघि बढिरहेको उल्लेख गरे। “मुलुकलाई परिवर्तनको बाटोमा लैजाने दायित्व सबैको काँधमा छ। सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन कटिबद्ध छ,” मन्त्री खरेलले भने।

किताब जात्राले पठन संस्कृतिको विकासमा गरेको योगदानको प्रशंसा गर्दै उनले शिक्षा नै समाज रूपान्तरणको मुख्य प्रकाश हो भन्दै सबैलाई जीवनभर पठन संस्कृतिलाई अँगाल्न आग्रह गरे। सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘किताब जात्रा’ले भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको फेस्टिभलका निर्देशक ऋषिराम अधिकारीले बताए। उनले पठन संस्कृतिको विकासका लागि नेपाल भित्रै मात्र होइन, विदेशमा पनि फेस्टिभल सञ्चालन गर्दै आएको जानकारी दिएका छन्।

फेस्टिभलमा दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रिया, सांगीतिक प्रस्तुति तथा पुस्तक प्रदर्शनीसमेत राखिएको छ। देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, कलाकार, सम्पादक, पत्रकारलगायत व्यक्तिहरूको सहभागितामा सामाजिक, राजनीतिक, आर्थिक, प्रविधि र सिनेमासहितका विषयमा गम्भीर बहस हुने बताइएको छ। कार्यक्रमका अवसरमा ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ पनि प्रदान गरिनेछ। किताब जात्राको उद्घाटन स्वस्ती वाचन, लाखे नाच, मिथिला आर्टको प्रदर्शन, कविता बाचन र एआई साहित्य प्रदर्शनसँगै सम्पन्न गरिएको थियो।