प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न अब प्रधानमन्त्रीलाई कुलपति बनाउने परम्परा हटाउने दिशामा सरकारले ठोस कदम चालिरहेको स्पष्ट पारेकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले उच्च शिक्षालाई राजनैतिक प्रभावबाट मुक्त बनाउन विश्वविद्यालय ऐनमै संशोधन गर्ने तयारी भइरहेको जानकारी गराइन्।
प्रधानमन्त्री तथा सो विश्वविद्यालयकी कुलपति समेत रहेकी कार्कीका अनुसार, अब विश्वविद्यालयहरूमा प्राज्ञिक तथा शैक्षिक योग्यताका आधारमा कुलपति चयन गर्ने व्यवस्था ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, कुलपति–उपकुलपति तथा सरोकारवालासँग गम्भीर परामर्श भइरहेको छ। उनले विश्वविद्यालयमा प्रधानमन्त्री स्वयम् कुलपति हुने विद्यमान व्यवस्था बदल्नु अत्यावश्यक भएको बताउँदै, “यो सुधारपछि उच्च शिक्षामा भइरहेको राजनीतिकरणको दीर्घकालीन अन्त्य सम्भव हुनेछ,” भनिन्।
उनले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौं विश्वविद्यालयले स्थापएको अनुशासित, प्राज्ञिक र पारदर्शी मोडल सबै विश्वविद्यालयका लागि उदाहरण हुने उल्लेख गरिन्। कार्कीले अन्य विश्वविद्यालयहरूले पनि काठमाडौँ विश्वविद्यालयले देखाएको प्रभावकारी शैक्षिक अभ्यास र व्यवस्थापन प्रणालीको अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उच्च शिक्षाको समग्र विकासका लागि संयुक्त प्रयास अत्यावश्यक भएको भनाइ दिइन्।







प्रतिक्रिया