जेनजी आन्दोलनका ‘सुशासन योद्धा’ दिलनारायण तामाङको कथा–नयाँ जुत्तादेखि सहादतसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुख–दुःखबीच जीवन चलिरहेकै थियो। काभ्रेपलाञ्चोकको तेमाल–७ का दिलनारायण तामाङ र पत्नी बुद्धिमाया दुई छोरालाई जसरी पनि पढाउने आशामा १० वर्षअघि परिवारसहित काठमाडौं झरेका थिए। मजदुरीको भरमा गुजारा चलाइरहेका उनीहरू छोराहरूको भोलि उज्यालो बनाउने सपनामा रमाइरहेका थिए।

ललितपुरको च्यासलमा बसेर दिलनारायण डकर्मीका रूपमा काम गर्थे। बुद्धिमाया पनि केही समयअघि मात्र थापाथलीस्थित एक कार्यालयमा सहयोगीको रूपमा ज्ञापन कमाइ जोडिन्। छोरा निशान र सोहन नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे। जीवनसँगै उज्यालो भविष्यको धुन चलिरहेको थियो।

तर गत भदौ २३ गते उनीहरूको जीवन एकाएक अन्धकारमा डुब्यो। सोही दिन दिलनारायणलाई मजदुरीमा जानुपर्ने थिएन। बिहानै सानो छोराका लागि नयाँ जुत्ता किनेर ल्याए। श्रीमतीलाई टिफिन तयार गरिदिए र दुवै छोरालाई विद्यालय पुर्‍याए। त्यो दिन बानेश्वरमा जेनजी आन्दोलन चलिरहेको जानकारी पाएपछि बुद्धिमायाले फोन गरेर “उहाँ नजानु, छोरालाई पनि नजान दिनु” भनेकी थिइन्। तर, आन्दोलन सुन्ने बित्तिकै जोसले भरिने स्वभाव भएकाले दिलनारायण स्वतः नयाँ बानेश्वर गए। सोही बेला प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको थियो। चलिरहेको गोलीमध्ये एक गोली उनको घाँटीमा लाग्यो र कुम हुँदै बाहिरियो। त्यतै ढल्दै उनले प्राण गुमाए।

अस्पतालबाट आएको फोनले बुद्धिमायाको संसार नै भताभुंग बनायो। अस्पताल पुग्दा दिलनारायणको शव विनोद महर्जन र योगेन्द्र न्यौपानेको शवसँगै थियो। “जहाँ नजानू भनेकी थिएँ, उहाँ त्यहीँ पुग्नु रहेछ,” बुद्धिमाया भक्कानिन्छिन्।

दिलनारायण राजनीतिक रूपमा सक्रिय र सचेत थिए। जनयुद्धकालमा माओवादी जनसेनामा सक्रिय भई युद्ध लडेका उनी विस्तृत शान्ति सम्झौता पछि वैदेशिक रोजगारीमा ओमान पुगेका थिए। त्यहीँ बुद्धिमायासँग भेट, चिनजान र प्रेम–विवाह भएको थियो। देश फर्किएपछि उनीहरू गाउँमा बस्न सकेनन्। छोराछोरीको भविष्य खोज्दै राजधानी आए। तर यही राजधानीमा देशका लागि ज्यान गुमाउनुपर्यो।

घरायसी काममै हात बटुल्ने, लुगा धुनेदेखि छोराहरूको हेरचाह गर्न कतै नहच्किने दिलनारायण परिवारको आधारस्तम्भ थिए। “हरेक पल उहाँको याद आउँछ,” बुद्धिमायाको स्वर रोदनले भरिन्छ।

जेनजी आन्दोलनको क्रममा सहादत प्राप्त दिलनारायणलाई सुशीला कार्की नेतृत्वको सरकारले ‘सुशासन योद्धा–२०८२’ घोषणा गरेको छ। सहिद परिवारलाई १५ लाख र काजक्रियाको रकम बुद्धिमायाले पाएकी छन्। तर परिवारको भविष्य त्यत्तिमै सीमित हुँदैन।

दाजु विद्यासागर भन्छन्, “साहसी, निडर र देशप्रति समर्पित थिए। संकटका बेला माओवादी लडाकु भएर युद्ध लडेका थिए।”
साना छोराले नयाँ जुत्ता ल्याइदिएको बिहान अझै सम्झन्छन्। “राम्रो पढ, डाक्टर बन्नुपर्छ” भन्ने बुवाको बोली अहिले पनि सोहनको कानमा घन्किरहन्छ।

दिलनारायणजस्ता सहिदहरूको सपना अपूरो राखेर मात्र सरकारले कर्तव्य पूरा गर्दैन। सहिद परिवारहरूको भविष्य सुरक्षित गर्ने गम्भीर पहल आवश्यक छ—उनीहरूको कथा कुनै परिवारको विछोड नबनोस् भन्ने अपेक्षासहित।