विश्वभरका दर्शकले पर्खिरहेको बहुप्रतिक्षित फिल्म ‘अवतार ३’ को एड्भान्स टिकट बिक्री नेपालमा सोमबारदेखि सुरु भएको छ। प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्सले अग्रिम टिकट खुलाएसँगै नेपाली दर्शकले रातिदेखि नै टिकट बुक गर्न थालेका छन्।
जेम्स क्यामरुन निर्देशित यो साइन्स–फिक्सन फिल्म ४ पुस (१९ डिसेम्बर २०२५) मा विश्वव्यापी रुपमा प्रदर्शन हुँदैछ। रिलिज मितिभन्दा ११ दिनअघि नै अग्रिम टिकट खुलाउने यो अभ्यास सम्भवतः नेपालमा पहिलोपटक भएको बताइन्छ। नेपालमा फिल्मलाई एप्पल इन्टरटेनमेन्टले वितरण गर्दैछ।
फिल्मको विश्वभर प्रिमियर धमाधम चलिरहेको छ। गत साताको लस एन्जलस प्रिमियरमा ‘अवतार ३’ ले अत्यधिक सकारात्मक प्रतिक्रिया पाएको र हेरिरहेकाले “अभूतपूर्व सिनेम्याटिक अनुभव” भएको प्रतिक्रिया दिएका छन्।
अवतारको पहिलो भाग नै नेपालमा प्रदर्शन भएको सम्भवतः पहिलो थ्रीडी फिल्म हो। पाण्डोरा नामक काल्पनिक ग्रहमा मान्छे र त्यथ्य आदिवासीबीच थातथलो, पहिचान र अस्तित्व जोगाउने संघर्षलाई केन्द्रमा राखिएको कथाले दर्शकलाई यथार्थभन्दा परको संसारमा डुबाउने अपेक्षा छ।
जेम्स क्यामरुनको यो फ्रेन्चाइजको तेस्रो भागलाई अहिलेसम्मकै सबैभन्दा भव्य अवतार फिल्म मानिएको छ। चौथो भाग २०२९ डिसेम्बर २१ र पाँचौँ भाग २०३१ डिसेम्बर १९ मा रिलिज हुने तय गरिएको छ।
अवतार १ र २ विश्व इतिहासकै सर्वाधिक कमाउने फिल्म सूचिमा क्रमशः पहिलो र तेस्रो स्थानमा छन्।







प्रतिक्रिया