दोस्रो नेपाल प्रिमियर लिग सोमबारदेखि सुरु, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले उद्घाटन खेल खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमने-सामने हुनेछन्। खेल सोमबार दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले दैनिक नौ हजार चार सय ५० दर्शकको लागि टिकट बिक्रीको व्यवस्था गरेको छ। पहिलो दिनको टिकट दुई दिनअघि नै बिक्री भइसकेको छ। क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेका छन्।

एनपिएल दोस्रो सिजन मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। यसमा ३२ खेल हुनेछन्, जसमा लिग चरण, तीन प्लेअफ र फाइनल समावेश छन्। उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ तोकिएको छ। लिग चरणका अन्य खेलका टिकट पाँच सय र एक हजार रुपियाँ हुनेछन् भने प्लेअफ खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ तय गरिएको छ।

सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ रहेको छ। यस सिजन एनपिएलमा साविक विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।