मेलम्चीको मुहान स्थानीयले बन्द गरे, काठमाडौंमा खानेपानी आपूर्ति पुनः रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको मुआन क्षेत्र स्थानीयवासीले बन्द गरेका छन्। तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको सम्झौता कार्यान्वयन नगरेको विरोधमा स्थानीयले आन्दोलन गर्दै मुहान बन्द गरेका हुन्।

हेलम्बुका प्रभावित राजकुमार भण्डारीका अनुसार मुहान बन्द भएपछि काठमाडौंमा ल्याइने मेलम्चीको पानी आपूर्ति पूर्ण रूपमा रोकिएको छ।

यसअघि पनि पाँच दिनअघि मेलम्ची खानेपानीको काठमाडौंस्थित कार्यालयमा स्थानीय सरोकार समितिले तालाबन्दी गरेका थिए। २०७८ सालको बाढीपहिरोबाट पीडित भएका स्थानीयको माग पूरा नभएकाले उनीहरू निरन्तर आन्दोलनमा छन्।

हेलम्बुको मुहान र काठमाडौं दुवै स्थानमा तालाबन्दी भएपछि मेलम्ची सुरुङमा पठाइएको पानी खोला तिरै फर्काइएको छ।

गत असारमा रोकिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि मात्र सुरु गरिएको थियो, तर अहिले पुनः आपूर्ति रोकिएको छ।

सिन्धुपाल्चोक र काभ्रेका चारवटा सरोकार समितिले पाँच दिनअघि काठमाडौंको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी गरेका थिए। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।