काठमाडौं — अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘वरिष्ठ बलराम’ लाई स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन्। फिल्मबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले “इज्जत बचाउन खोज्ने स्थापित व्यक्ति र आफू स्थापित हुन चाहने नयाँ पुस्ताबीचको द्वन्द्व” फिल्मको मूल विषय रहेको बताए।
फिल्ममा दयाहाङले स्थापित र प्रतिष्ठित पात्रको भूमिका निभाएका छन् भने अभिनेता विजय बरालले उनलाई चुनौती दिने पात्र बनेका छन्। “मान्छे जस्तोसुकै होस्, आवरणमा ऊ समाजमा वरिष्ठ र प्रतिष्ठित देखिन चाहन्छ — यही मानवीय स्वभावलाई फिल्मले उठाएको छ,” दयाहाङले भने।
अभिनेता बरालका अनुसार फिल्म सामान्य व्यक्तिबाट ‘वरिष्ठ’ बन्ने चाहनाभित्रको संघर्षलाई चित्रण गर्छ। उनले भने, “कसको नाम बलराम हो भन्ने कुरा ट्रेलर र फिल्म रिलिजपछि खुल्नेछ, तर फिल्ममा मलाई ‘बले’ भनेर बोलाइएको छ।” बरालले दयाहाङसँगको सिनेमाटिक टकराबलाई चुनौतीपूर्ण तर सिकाइपूर्ण अनुभव भनेका छन्।
दयाहाङले भने सेटमा ‘वरिष्ठ–कनिष्ठ’ नभई केवल ‘चरित्र’ मात्र हुने बताए। उनले ‘दासढुंगा’ फिल्ममा गुरु अनुप बरालसँग काम गरेको स्मरण गर्दै भने, “चरित्र निभाउँदा हिचकिचाउनु हुँदैन, त्यहीँ भडाँस पोख्ने मौका हो।”
फिल्मकी अभिनेत्री समृद्धी अर्यालले आफू फिल्ममा ‘सिर्फ देखावटी उपस्थिति’ नभई प्रभावशाली भूमिकामा रहेको बताइन्। “दुई लिड पात्रबीच मेरो भूमिकाले सशक्त प्रभाव पार्नेछ,” उनले भनिन्, “यो फिल्मले मेरो अभिनय करिअरमा टर्निङ पोइन्ट दिन सक्छ।”
*‘वरिष्ठ बलराम’*लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। फिल्ममा पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप चौधरीको पनि अभिनय छ। पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्मलाई आशिष एच तामाङ र श्रीराज कार्कीले निर्माण गरेका हुन्।
यो फिल्म कात्तिक ६ गते भाइटीकाको दिन देशभर रिलिज हुने तय गरिएको छ।









प्रतिक्रिया