काठमाडौं महानगरले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरु गर्‍यो, पहिलो चरणमा ४ हजार कुकुर बन्ध्याकरणको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरहरूको बन्ध्याकरण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। महानगरका ३२ वडामा रहेका कुकुरहरूलाई लक्षित गरी यो अभियान अघि बढाइएको हो।

महानगरले बन्ध्याकरणका लागि पाँच वटा संघसंस्थासँग सम्झौता गरेको छ र ती संस्थाहरूलाई सम्बन्धित वडामा कार्यादेश दिइसकिएको छ। पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको छ।

महानगरको कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार यो कार्यक्रम कुकुरप्रति जिम्मेवार व्यवस्थापन र पशु अधिकारको सम्मानका लागि सुरु गरिएको हो। उनले बन्ध्याकरण कार्य व्यावसायिक नभई सेवा भावले गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी संस्थाहरूले वडाका जनप्रतिनिधिको रोहबरमा बन्ध्याकरण र रेबिजविरुद्धको खोप सञ्चालन गर्नुपर्नेछ। बन्ध्याकरणपछि कुकुरको कानमा नच लगाइने र भ्याक्सिनेसनपछि शरीरमा हरियो रङ लगाएर चिन्ह लगाइनेछ।

महानगरले बन्ध्याकरण तथा खोपको दर प्रति जनावर २ हजार ५ सय रुपैयाँ तोकेको छ। कार्य सम्पन्न प्रमाणित भएपछि ८० प्रतिशत रकम अग्रिम भुक्तानी र बाँकी २० प्रतिशत अन्तिम प्रतिवेदनपछि प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार गलत विवरण दिएर दाबी प्रमाणित भएमा सम्बन्धित संस्थालाई प्रति जनावर १ लाख रुपैयाँ जरिवाना र सम्झौता रद्द गर्ने सर्त पनि राखिएको छ।

गएको आर्थिक वर्षमा महानगरले ५ हजार ५ सय कुकुर र बिरालोको बन्ध्याकरण१६ हजार जनावरमा रेबिज खोप लगाएको थियो। यस वर्ष पनि उक्त अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने महानगरको तयारी छ।