काठमाडौँ – सहमति नजुटेका कारण कांग्रेस केन्द्रीय कार्यसमिति (केसिसी) बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भए पनि आइबारसम्मका लागि स्थगित भएको छ।
केन्द्रीय कार्यालयका स्रोतका अनुसार, आज सहमतिको प्रयासस्वरुप नेताबीच छलफल भए पनि महाधिवेशनको कार्यतालिकामा विवाद कायमै रहेपछि बैठक स्थगित गरिएको हो।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मङ्सिरमा महाधिवेशन गर्न कार्यतालिका ल्याउन आग्रह गर्दै आएका छन्। तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव अस्वीकार गर्दा समस्या उत्पन्न भएको हो। संस्थापन समूहले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने पक्ष राख्दै आएका छन्।
यस विवादका कारण बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत महामन्त्री थापा अनुपस्थित थिए। यसैबिच आज खड्काले केसिसी बैठक रोकेर पदाधिकारीहरूको बैठक राखेका थिए। सो बैठकमा डा. शेखर कोइराला लगायतका नेताहरूको सहभागिता रहेको थियो। तर कार्यतालिकाबारे सहमति नहुँदा बैठक प्रभावित बनेको नेताहरूले बताएका छन्।
यो विवादले पार्टी भित्रको महाधिवेशन अघि–पछिको समय र निर्वाचन तयारी सम्बन्धी दृष्टिकोणमा भिन्नता स्पष्ट गरेको छ।







प्रतिक्रिया