डेब्यू निर्देशक दीपक आचार्यको ‘परान’ प्रिमियरमा सकारात्मक प्रतिक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रिलिज पूर्वसन्ध्यामा फिल्म ‘परान’ को प्रिमियर गरिएको छ। डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’ का अनुसार फिल्मले प्रिमियरमा अतिथिहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

फिल्म हेरेका कतिपय अतिथि भावुक भएका थिए र आफ्ना परिवारसँग जोडिएका स्मृतिहरू सम्झँदै प्रतिक्रिया दिएका थिए। अभिनेता हरिवंश आचार्यले फिल्मको कथा उत्कृष्ट रहेको बताए र हरेक गाउँको समस्या यसमा देखिएको उल्लेख गर्दै सबैलाई फिल्म हेर्न आग्रह गरे।

प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ का निर्देशक सुयोग गुरुङले पनि ‘परान’ छुटाउनै नहुने फिल्म भएको प्रतिक्रिया दिए। उनका अनुसार फिल्म हेर्दा आँखा झिमिक्क नहुने, कतिखेर आँसु आउँछन् थाहा नहुने अनुभव भएको छ।

फिल्मले उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ, जसले सन्तानसँग नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैन। यस अन्तरद्वन्द्वलाई फिल्मले भावनात्मक रूपमा चित्रण गरेको छ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। निर्माताद्धय शेखर गोल्छा र रन्जित आचार्यलाई फिल्म निर्माणमा उत्कृष्ट योगदान दिएको भन्दै बधाई तथा शुभकामना दिइएको थियो।