बागमती प्रदेशमा कांग्रेस भित्रको विवाद: केन्द्रीय नेतृत्वले राजेन्द्र केसीलाई समन्वय जिम्मेवारी दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — बागमती प्रदेशमा कांग्रेसभित्र मुख्यमन्त्रीको पद र नेतृत्वलाई लिएर चर्को मतभेद देखिएको छ। केन्द्रीय नेतृत्वले अहिलेसम्म औपचारिक रूपमा केही बोलेको छैन, तर विवाद समाधानका लागि केन्द्रीय सदस्य राजेन्द्र केसीलाई समन्वयको जिम्मेवारी दिने तयारी भइरहेको छ।

नेताहरूले दाबी गरेका छन् कि एक वर्षअघि कांग्रेसभित्रै मुख्यमन्त्री आलोपालो गर्ने अनौपचारिक सहमति भएको थियो, तर सहमति कार्यान्वयन गर्न विकल्प नहुँदा नेतृत्व अन्योलमा परेको छ। बागमती प्रदेशमा समेत केन्द्रझैं गुटउपगुट देखिएका छन्। तर अहिले मुख्यमन्त्री लामा र उहाँलाई हटाउन चाहने इन्द्र बानियाँ दुवै सभापति शेरबहादुर देउवा निकट छन्।

संसदीय दलमा मतदान गरेर विवाद टुंगो लाग्ने नेताहरूको भनाइ छ। गगन थापा निकट ६ जना सांसद, प्रकाशमान सिंह तथा प्रकाशशरण महत निकटका सांसदहरूले अविश्वास प्रस्तावको पक्षमा उभिएका छन् भने शेखर कोइराला पक्षका ४ सांसदले मुख्यमन्त्री लामाको समर्थन गरेका छन्।

२०७९ साल माघमा संसदीय दलको नेता चयनमा लामाले २१ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने बानियाँले १६ मत पाएका थिए। अहिले बानियाँले २१ मत जुटाएर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन सफल भएका छन्। प्रस्ताव पारित भए पुनः संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुनेछ। केन्द्रले सहमतिको पहल नगरेको खण्डमा बागमती कांग्रेसमा विवाद बढ्ने सम्भावना देखिएको छ।