मानव कल्याण समाजलाई ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — यसवर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा घर)लाई प्रदान गरिएको छ। पुरस्कार कोषले शनिबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समाजकी संस्थापक सुमित्रा चौलागाई (सुमी मानव)लाई रू दुई लाख राशिको पुरस्कार प्रदान गर्नुभयो।

भक्तपुरको चाँगुनारायण नगरपालिका-२ झौखेलमा बेसहरा नागरिकलाई आश्रय र सेवा उपलब्ध गराउँदै आएको मानव कल्याण समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको आधारमा पुरस्कार दिइएको कोषले जनाएको छ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका-४ स्थित श्री अनाथ असहाय बाल सुधार समाज, नुवाकोटको विदुर नगरपालिका-देवीघाटस्थित श्री देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, चितवनको रत्ननगरपालिका-११ मङ्गलपुरस्थित गामवेसी चेपाङ संरक्षण केन्द्र र ललितपुर महानगरपालिका-२५ स्थित श्री तुलसी फाउण्डेशन (तुलसालय आश्रम)लाई जनही रू एक लाख राशिको पुरस्कार प्रदान गरिएको थियो।

साथै कार्यक्रममा शिक्षा तथा सीप विकासमा सामाजिक संस्थाको योगदानबारे शोधकर्ता एवं पूर्वसहसचिव गेहनाथ गौतमद्वारा लिखित ‘सामाजिक सेवा प्रचनमाला-८’ पनि लोकार्पण गरिएको थियो। पुरस्कार प्राप्तकर्ता चौलागाईले बेसहरा नागरिकको जीवनयापनमा सहजता ल्याउन समाज निरन्तर क्रियाशील रहेको बताउनुभयो।