सुनसरी कारागारमा चार दिनमा तीन कैदीको मृत्यु, स्वास्थ्य शिविर सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी — अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनको अवधिमा तीन जना कैदीबन्दीको मृत्यु भएको छ। सुरुमा कैदीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता जस्ता लक्षण देखा परेको र उपचारका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ।

चार दिनमा लगातार तीन जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी कारागारमा स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ। कारागारका दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ।

हिजो बुधवार दिउँसो अचानक बेहोस भएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएपछि साँझ मृत्यु भएको हो। यादव जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

यसअघि सोमबार एकैदिन दुई जना कैदीको मृत्यु भएको थियो। गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराव (कर्तव्य ज्यान मुद्दामा कैद) र धरानका २४ वर्षीय सागर राई (लागूऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका) मृत्यु भएका थिए।