काठमाडौँ — भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा तत्कालीन सरकारले गरेको दमन र त्यसपश्चात भएको तोडफोड तथा आगजनीको छानबिन गर्न गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आजदेखि काम सुरु गरेको छ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिएको हो। आयोगमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। सरकारले गत असोज ५ गते आयोग गठन गरेको थियो। बुधबार आयोगका पदाधिकारीहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष सपथ लिएसँगै आयोगको काम औपचारिक रूपमा सुरु भएको हो।
आयोगले आगामी तीन महिनाभित्र आन्दोलनका क्रममा भएका घटनाहरूको विस्तृत छानबिन गरी प्रतिवेदन तयार गर्नेछ। घटनामा दोषी ठहर गरिएका व्यक्तिहरूको कारबाहीसम्बन्धी सिफारिस पनि आयोगमार्फत गरिनेछ। जेन-जी आन्दोलनको क्रममा भदौ २३ गते तत्कालीन सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो भने २४ गतेको आगजनीमा मृत्यु हुनेको संख्या ७४ पुगेको थियो।







प्रतिक्रिया