नेपालमा मुटुरोग बढ्दै, अस्वस्थ जीवनशैली र खानपान मुख्य कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं — नेपालमा मुटु रोगका बिरामीको संख्या हरेक वर्ष बढ्दो क्रममा छ। अनुसन्धानहरूले देखाएको छ कि नसर्ने रोगमध्ये मृत्युको प्रमुख कारण मुटुरोग नै हो। तर समयमै सतर्कता अपनाएमा यसको जोखिम घटाउन सकिन्छ।

धेरैले सोच्ने गर्छन् कि मुटुरोग केवल निश्चित उमेर पुगेपछि मात्र देखिन्छ, तर हाल नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्ममा मुटुरोग देखिन थालेको छ। वंशाणुगत कारण, अस्वस्थकर जीवनशैली, धुम्रपान, मध्यपान, अत्यधिक चिल्लो खानेकुरा र उच्च रक्तचाप वा मधुमे जस्ता समस्या मुटुरोगको जोखिम बढाउँछन्। हृदयाघात पनि मुटुरोगमा उच्च जोखिमयुक्त समस्या मानिन्छ।

चिकित्सकका अनुसार, दुई दशकअघि प्रति १ लाखमा करिब २७ सयमा मुटुरोग देखिन्थ्यो भने हाल प्रति १ लाखमा ४ हजारमा मुटुरोग देखिन थालेको छ। सरकारको विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत मुटुरोग उपचारका लागि वर्षेनि एक लाख रूपैयाँ सहयोग दिइँदै आएको छ। आर्थिक वर्ष २०७८-७९ मा ६ हजार १ सय १९ जना, २०७९-८० मा ६ हजार ५ सय २६ जना, र २०८०-८१ मा ६ हजार ९ सय २६ जनाले यस कार्यक्रमको लाभ लिएका छन्।

चिकित्सकहरूले सुझाएका छन् कि स्वस्थ जीवनशैली अपनाउँदै, नियमित रूपमा मुटु परीक्षण गर्नाले मुटुरोगको जोखिम कम गर्न सकिन्छ। यसर्थ, खानपान, व्यायाम र स्वास्थ्य सचेतनामा ध्यान दिन आवश्यक रहेको छ।