काठमाडौँ — काठमाडौँ महानगरले चाडपर्वको अवसरमा दूध र दुग्धजन्य खाद्य पदार्थको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिन सबैसँग आग्रह गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार चाडबाडमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने भएकाले त्यसको गुणस्तर सुनिश्चित गर्न व्यवसायी र उपभोक्ताले दुवैले सचेत हुनुपर्ने आवश्यकता छ। विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी दूधजन्य पदार्थ सेवन गर्ने भएकाले उनीहरू स्वास्थ्यको दृष्टिले उच्च जोखिममा रहने हुँदा सावधानी अनिवार्य रहेको उनले बताए।
न्यौपानेले दूधमा प्रयोग हुने पानीको गुणस्तर, बिक्री–वितरणमा प्रयोग हुने प्लास्टिक वा रबरको गुणस्तर, भण्डारणको तरिका लगायतमा व्यवसायीहरूले ध्यान दिनुपर्ने बताए। यसका साथै, काठमाडौँ महानगरले उपभोक्ताको हितमा खाद्य स्वच्छता कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
महानगरद्वारा सञ्चालित खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले डेरी पसल र साना दूध तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायीलाई सुधार र व्यवस्थित बनाउने कार्यक्रममा कानुनी प्रावधान, व्यवसाय सञ्चालन अभ्यास, उत्पादनको स्वाद परीक्षण, लेबलिङ प्रक्रिया र आवश्यक भौतिक संरचनामा ध्यान दिन सुझाव दिएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार दूषित खानपानका कारण विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र वार्षिक ४ लाख २० हजारको मृत्यु हुने गर्छ। यसैले रोग लागेपछि उपचार खोज्ने भन्दा रोग लाग्न नदिनेतर्फ ध्यान दिन विज्ञहरूले सधैं जोड दिने गरेका छन्।
नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपकप्रसाद धमलाले पनि दूध र दुग्धजन्य व्यवसायमा निरन्तर प्रशिक्षण र सचेतना आवश्यक रहेको बताए। उनले भने, “हरेक वर्ष नयाँ व्यवसायी र प्रविधि भित्रिन्छ, तर मानिसले जानेको कुरा व्यवहारमा लागू नगर्ने गर्छन्। त्यसैले सतत प्रशिक्षण र सचेतनाले मात्र स्वच्छता कायम रहन्छ।”







प्रतिक्रिया