नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० शृंखला ३-२ ले जित्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेर देशको खेल इतिहासमा अर्को उपलब्धि जोडेको छ। बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् भने पूजा महतोले २३ रन र रुबिना क्षेत्रीले १५ रनमा अविजित रही योगदान दिइन्। मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाए। नेपालका लागि कविता कुँवरले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् भने राजमती ऐरीले पनि ३ विकेट लिए।

नेपालले शृंखला पहिलो खेलमा ३ रनले गुमाए पनि दोस्रो खेलमा ६ विकेटको जित हासिल गर्यो। तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा फेरि ६ विकेटले विजय हासिल गरेको थियो।