आईसीसी टी-२० विश्वकप एशिया छनोट: नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो। कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए।

नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए, सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए, कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो। भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए। दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए भने गुल्शन झाले ६ बलमा २० रन बनाए।

कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए भने नवीन राजले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। मोहम्मद असलम र अकिफ फारुकले १-१ विकेट लिए।

यो जितसँगै नेपाल सुपर सिक्समा पुग्न सफल भएको छ। अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ।