मुम्बई । बेलायती प्रधानमन्त्री केयर स्टारमर हाल भारत भ्रमणमा छन्। उनले बुधबार मुम्बईस्थित यशराज फिल्म्सको कार्यालय अवलोकन गर्दै बलिउडसँग नयाँ सहकार्यको घोषणा गरेका छन्।
बेलायती प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सन् २०२६ देखि यशराज फिल्म्सका तीन बलिउड ब्लकबस्टर फिल्म बेलायतका विभिन्न स्थानमा छायांकन हुने छन्। उक्त परियोजनाबाट ३,००० भन्दा बढी रोजगारी सिर्जना हुने र देशको अर्थतन्त्रमा लाखौँ पाउन्डको योगदान पुग्ने जनाइएको छ।
प्रधानमन्त्री स्टारमरले बलिउड र बेलायतबीचको सहकार्यले दुवै देशका फिल्म उद्योग र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने बताए। उनले भने, “बलिउड बेलायतमा फर्किएको छ, यसले रोजगारी, लगानी र अवसर ल्याउनेछ, साथै बेलायतलाई विश्वस्तरीय फिल्म निर्माण केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ।”

सम्झौता घोषणाको क्रममा ब्रिटिस फिल्म इन्स्टिच्युट, ब्रिटिस फिल्म कमिसन, पाइनउड स्टुडियोज, इल्सट्री स्टुडियोज र सिभिक स्टुडियोका प्रतिनिधिहरू पनि उपस्थित थिए। यशराज फिल्म्सका सीईओ अक्षय विधानीले ‘दिलवाले दुल्हनिया ले जायेंगे (डीडीएलजे)’ लगायतका प्रतिष्ठित फिल्महरूको छायांकन बेलायतमै भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई पुनर्जीवित गर्ने यो सहकार्य विशेष रहेको बताए।
दिवंगत निर्देशक यश चोपडाद्वारा स्थापना गरिएको यशराज फिल्म्सले अक्टोबर १२, २०२५ मा भारतमा आफ्नो २०औं वार्षिकोत्सव मनाउँदैछ। कम्पनीले हाल बेलायतमा ‘कम फल इन लभ’ शीर्षकको डीडीएलजेको अंग्रेजी स्टेज रूपान्तरण निर्माण गरिरहेको छ।प्रधानमन्त्री स्टारमर दुई दिने भारत भ्रमणमा रहेका छन्।









प्रतिक्रिया