शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका १ हजार ४१० आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यसका लागि १६१ टोलीले आरोहण अनुमति लिएका हुन्।
विभागकी शाखा अधिकृत सुधा रेग्मीका अनुसार अनुमति लिनेमा १ हजार ६९ पुरुष र ३४१ महिला छन्। उनीहरूबाट विभागले ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहणका लागि अनुमति लिएका छन्। मनास्लु आरोहण गर्न ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। उनीहरूबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।
त्यस्तै, धौलागिरि–१ आरोहणका लागि ६ टोलीका ३७ जना, हिम्लुङका लागि १२ टोलीका १२१ जना र आमादब्लमका लागि ३२ टोलीका ३८६ जनाले अनुमति लिएका छन्। यी हिमालबाट क्रमशः ८४ लाख ७३ हजार ६५० रुपैयाँ, ७४ लाख २७ हजार ७२० रुपैयाँ र ५ करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ। मकालु आरोहणका लागि भने एक टोलीका तीन जनाले अनुमति लिएका छन्।
आरोहण अनुमति लिनेमा चीनका सबैभन्दा धेरै १४१ जना छन्। यस्तै, फ्रान्सका १३०, अमेरिकाका ११९, रुसका १०८, बेलायतका ९६, स्विट्जरल्याण्ड र इटालीका ४७–४७, पोल्याण्डका ४१, भारतका ४०, जापानका ३५, नेपालका ३३ र स्पेनका ३१ जना छन्।
विभागले पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, अन्नपूर्ण–४, पुमोरी, लमजुङ हिमाल, जुगललगायतका हिमाल आरोहणका लागि पनि अनुमति जारी गरेको छ।
विभागका अनुसार आरोहण अनुमतिबापत २० लाख ८९ हजार ५८४ अमेरिकी डलर अर्थात् करिब ३१ करोड ८० लाख रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।







प्रतिक्रिया