राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीले छानबिन थालेको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित श्रव्य सामग्री र उनीमाथि उठेका प्रश्नबारे छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइएको उल्लेख छ।
सार्वजनिक अडियोमा एक महिलालाई मारिदिने र उनका बच्चालाई समेत मार्ने धम्की दिइएको सुनिन्छ। राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले उक्त घटनाबारे प्रतिक्रिया दिँदै हिंसाको पनि सीमा हुने बताएकी छन्।
तर सांसद सुनारले भने अडियोमा सुनिएको आवाज आफ्नो भएको दाबी अस्वीकार गरेका छन्। मंगलबार सार्वजनिक भिडियोमार्फत उनले काल्पनिक व्यक्तिलाई जोडेर आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले उस्तै सुनिने स्वरमा अडियो तयार पारिएको जिकिर गरेका छन्। प्रहरीभित्रको भ्रष्टाचारबारे सार्वजनिक लेखा समितिमा प्रश्न उठाएपछि आफूविरुद्ध मिडियामार्फत आक्रमण भइरहेको उनको दाबी छ।
सुनार बाँके–३ बाट २०८२ फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए। दलित समुदायमाथि हुने विभेदविरुद्ध आवाज उठाउँदै आएका उनी यसअघि पनि विभिन्न विवादमा परेका थिए।
प्रहरीको अभिलेखअनुसार सुनारविरुद्ध तीनवटा फौजदारी मुद्दा अदालतमा विचाराधीन छन्। सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपसम्बन्धी मुद्दा, सार्वजनिक शान्तिविरुद्धको कसुर र विद्युतीय कारोबारसम्बन्धी मुद्दा तीमध्ये छन्। यी मुद्दामा अन्तिम फैसला भइसकेको छैन।
यसअघि सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने तयारी भइरहेका बेला उनीविरुद्धका मुद्दाबारे सार्वजनिक चर्चा भएपछि उनको नाम मन्त्री बन्ने सूचीबाट हटेको थियो।
पछिल्लो अडियो प्रकरणमा प्रहरीले अनुसन्धान अघि बढाउन पीडित पक्षबाट जाहेरी आउनुपर्ने प्रहरीका एक उच्च अधिकृतले बताएका छन्। हाल भने रास्वपाको अनुशासन आयोगले छानबिन सुरु गरेको छ।
रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले अडियोमा सुनिएको आवाज सुनारकै भएको पुष्टि भएमा कारबाही गरिने बताएका छन्। ‘त्यो शब्द हाम्रै सांसदको हो भने कारबाही हुन्छ,’ उनको भनाइ छ।
अडियोको आधिकारिकता पुष्टि हुन र छानबिनको निष्कर्ष आउन बाँकी छ।







प्रतिक्रिया