काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट २१ किलो ७५० ग्राम सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी अवैध रूपमा सुन प्रशोधन तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा छापा मार्दा सुनसहित तीन जनालाई पक्राउ गरिएको जनाएको हो।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ह्याङ फेई, झौ लोङ क्विन र वाङ जियाङ जिआङ रहेका छन्। कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार बरामद सुनको अनुमानित बजार मूल्य ५४ करोड ६० लाख ७ हजार रुपैयाँ रहेको छ। उक्त परिमाणमा प्लास्टिकसहितको तौल समावेश गरिएको उनले बताए।
प्रहरीको अनुसन्धानअनुसार चिनियाँ नागरिक सु क्यानले साउन ८ गतेदेखि चार महिनाका लागि मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी उक्त घर लिएका थिए। उनले घरधनीलाई कुल १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेका थिए।
अनुसन्धानमा सु क्यानले चीनमा रहेका आफ्ना मुख्य नाइके जेन जिया ललाई घरको साँचो बुझाएको र जेनले असोज १० गते ह्याङ फेई तथा झौ लोङ क्विनलाई साँचो दिएर नेपाल पठाएको खुलेको प्रहरीले जनाएको छ।
एसएसपी खड्काका अनुसार यस सञ्जालका मुख्य नाइके चीनको ग्वान्झाउमा रहेका जेन जिया ल हुन्। उनकै निर्देशनमा वीच्याटमार्फत अवैध कारोबार तथा ओसारपसार सञ्चालन हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले हालसम्म उक्त प्रकरणमा कुनै पनि नेपालीको संलग्नता नदेखिएको जनाएको छ। थप अनुसन्धानका लागि दोभासेको व्यवस्था गरिए पनि पक्राउ परेका चिनियाँ नागरिकले अनुसन्धानमा असहयोग गरिरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया