अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन्।
नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय छलफलमा उनले अहिले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन सरकारको मुख्य प्राथमिकता रहेको बताए।
राहत सामग्री वास्तविक पीडितसम्म न्यायोचित ढङ्गले पुर्याउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ। साथै, शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिने उनले बताए।
बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुई–तीन स्थानमा तत्काल बेलिब्रिज राखिने जानकारी पनि अर्थमन्त्री वाग्लेले दिए।
छलफलमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोसीमा आएको बाढी कल्पनाभन्दा शक्तिशाली भएको भन्दै अहिले राज्यको सम्पूर्ण शक्ति प्रभावित क्षेत्रमा केन्द्रित रहेको बताए।
उनले उद्धारपछि अब शव सङ्कलन र व्यवस्थापनलाई प्राथमिकता दिइएको तथा सरकारसँग रहेका सात वटा बेलिब्रिज सम्भाव्यता हेरेर छिटोभन्दा छिटो आवश्यक स्थानमा जडान गर्ने तयारी भइरहेको जानकारी दिए।
सरकारले राहत, उद्धार र पुनःस्थापनाका काममा कुनै कसर बाँकी नराख्ने मन्त्रीहरूको प्रतिबद्धता छ।







प्रतिक्रिया