भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीको सुस्तामा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको छ। आइतबार अपराह्न नेपाली भूमिमा प्रवेश गरेको एसएसबी टोलीले सुस्ता–५ क्षेत्रमा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कटान र डुबानबाट सुस्ता क्षेत्र जोगाउन १४ करोड रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिरहेको छ। स्थानीयका अनुसार एक दर्जन भारतीय सुरक्षाकर्मी निर्माणस्थलमा पुगेर काम नगर्न भन्दै फर्किएका थिए।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार हाल निर्माण भइरहेको तटबन्धभन्दा करिब ५० मिटर पूर्वतर्फ नेपालकै भूभागमा नयाँ ठेक्काअन्तर्गत बाँध निर्माण गर्ने तयारी भइरहेका बेला भारतीय पक्षले अवरोध गरेको जानकारी आएको छ। विवादित क्षेत्रको निर्माणबारे भारतीय पक्षले चासो देखाएको उनले बताए।
‘निर्माणस्थलमा आएर नयाँ ठेक्का लगाउने विषयमा उनीहरूले अवरोध गरेको जानकारी पाएको छु,’ प्रजिअ नेपालले भने, ‘यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेका छौँ, सिँचाइ र नापी कार्यालयसँग पनि समन्वय भइरहेको छ।’
घटनापछि सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरीका एसपी गोविन्द खातीलाई स्थलगत जानकारी लिन पठाइएको थियो। एसपी खातीले नेपाल–भारतका सुरक्षाकर्मीबीच नियमित हुने संयुक्त सीमा अनुगमनकै क्रममा टोली त्यहाँ पुगेको बताएका छन्।
निर्माणस्थलमा खटिएका इन्जिनियर हरिश पन्तका अनुसार भारतीय सुरक्षाकर्मी पोसाकमै निर्माणस्थलमा आएर काम नगर्न निर्देशन दिँदै फर्किएका थिए। घटनाबारे सोमबार भारतीय समकक्षीसँग छलफलको प्रयास भइरहेको प्रशासनले जनाएको छ।









प्रतिक्रिया