त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिवेणी गाउँपालिका मा यस वर्ष अदुवा खेतीबाट उल्लेख्य आम्दानी भएको छ। पालिकाभरका किसानहरूले अदुवा बिक्रीबाट कुल ५ करोड ५६ लाख ५० हजार रुपैयाँ भित्र्याएका छन्।

कृषि शाखा प्रमुख ऐनबहादुर कार्की का अनुसार यस वर्ष पालिकाभर १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको थियो। करिब २ हजार ६५० किसान अदुवा खेतीमा संलग्न रहेका छन्।

प्रत्येक किसानले औसतमा दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् भने कुल ५ हजार ३०० रोपनी क्षेत्रफलमा उत्पादन भइरहेको छ। एक रोपनी जमिनबाट करिब तीन क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको जनाइएको छ।

किसानहरूले गाउँमै प्रतिक्विन्टल ३,५०० रुपैयाँमा अदुवा बिक्री गर्दै आएका छन्, जहाँ व्यापारीहरू सिधै गाउँमै पुगेर खरिद गर्ने गरेका छन्।

व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका नरे खड्का ले यस वर्ष मात्रै करिब एक लाख रुपैयाँ आम्दानी गरेको बताए। उनी विगत २२ वर्षदेखि अदुवा खेतीमा संलग्न छन् र उत्पादनको केही हिस्सा बीउका लागि सुरक्षित राख्ने गरेका छन्।