काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आउँदो निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य रहेको बताएकी छन्। उनले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी चुनाव गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले यो कुरा द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँग भेटघाटका क्रममा बताइन्। उनले भनिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो। यसैमा केन्द्रित छौँ। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकहरूको पनि भूमिका रहन्छ। यहाँहरूको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ।”
आन्फ्रेल, जसको सचिवालय थाइल्यान्डको बैंककमा रहेको छ, एक अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक सञ्जाल हो। यसको टोली नेपालमा निर्वाचन पूर्व वातावरणको मूल्यांकन गर्न आएको हो।

प्रतिनिधिमण्डलकी प्रमुख ब्रिजा रोसालेसले प्रधानमन्त्री कार्कीको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव हुने विश्वास व्यक्त गरिन्। उनका अनुसार, “प्रधानन्यायाधीशको रूपमा लामो अनुभव भएकी व्यक्तिको नेतृत्वमा बनेको सरकारले लोकतान्त्रिक संस्थालाई सुदृढ गर्ने अपेक्षा गर्न सकिन्छ।”
भेटमा नेपालका नियोक (नेपाल निर्वाचन पर्यवेक्षक सञ्जाल) का पदाधिकारी तथा सदस्यहरू पनि सहभागी थिए। उनीहरूले यसपालि पहिलोपल्ट मतदान गर्ने युवामा देखिएको उत्साह प्रशंसनीय रहेको बताउँदै मतदाता शिक्षामा विशेष जोड दिन सुझाव दिएका छन्।
सरकारले तोकिएको मितिअनुसार फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्र पारेको जनाएको छ।









प्रतिक्रिया