जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न दबाब दिन जेन–जी नेतृत्वमा आज सडक प्रदर्शन हुने भएको छ।
आयोजकका अनुसार आज दिउँसो १ बजे माइतीघरमा भेला भएर गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारलाई दबाब दिने कार्यक्रम राखिएको छ।
जेन–जी अगुवा रक्षा बमका अनुसार दिउँसो १ बजेदेखि सरकारलाई दबाब दिने विभिन्न कार्यक्रम सुरु हुने छन्। कार्यक्रममा प्लेकार्ड बोकी शान्तिपूर्ण धर्ना दिने योजना रहेको छ।
सरकारले गत भदौ २३ र २४ गते भएको विद्रोहको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो। आयोगले आफ्नो प्रतिवेदन २४ फागुनमा सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।
आयोजकहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान दबाब दिन यो कार्यक्रम आयोजना गरिएको बताएका छन्। उनीहरूका अनुसार सरकारले जेन–जीसँग गरेको सम्झौतामा पनि प्रतिवेदन सार्वजनिक गर्ने कुरा उल्लेख गरिएको छ।
‘गौरीबहादुर कार्की आयोगको पूरा प्रतिवेदन खोइ सरकार ?’ भन्ने सन्देशसहित सामाजिक सञ्जालमार्फत माइतीघरमा भेला हुन आह्वान गरिएको छ। उक्त आह्वान जेन–जी मुभमेन्ट अलायन्स, नेपाल जेन–फ्रन्ट र जेन–जी सिभिल फोरमको संयुक्त सहभागितामा गरिएको हो।







प्रतिक्रिया