पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई सांसदको भूमिका स्मरण गराएका छन्। सांसदको काम देशका लागि नीति र कानुन निर्माण गर्नु भएको उल्लेख गर्दै उनले पुस्तक बिक्री गर्नु सांसदको जिम्मेवारी नभएको बताएका छन्।
म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले गत सोमबार पोखराको सडक किनारमा उभिएर आफ्ना पुस्तक बिक्री गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। सोही विषयलाई लिएर मेयर आचार्यले बुधबार फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, “माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो।”
मेयर आचार्यले पुनसँग पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गरेर भुक्तानी उपलब्ध गराउन सहजीकरण गर्न सकिने पनि बताएका छन्।
उनले भनेका छन्, “यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं।”
साथै, हालसम्म बिक्री–वितरण भएका पुस्तकको विवरण सार्वजनिक गर्न सके पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ दिन सकिने उनले उल्लेख गरेका छन्।
मेयर आचार्यले पुनको अभियान र उद्देश्यप्रति सम्मान व्यक्त गर्दै आवश्यक परे सहयोग र सहकार्यका लागि पोखरा महानगरपालिका सधैं तयार रहेको पनि बताएका छन्।








प्रतिक्रिया