रवि लामिछाने : ‘सिंहदरबार बनाउने मात्रै होइन, बदल्ने योजना लिएर आएको हुँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सिंहदरबार बनाउने मात्रै नभई बदल्ने स्पष्ट योजना लिएर राजनीतिमा आएको बताएका छन्। सुदूरपश्चिमको धनगढीमा आज आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले पुराना दलको पछि नलाग्न मतदातालाई आग्रह गरे।

लामिछानेले आफू ससाना समस्या होइन, देशकै समग्र समस्या समाधान गर्न आएको बताए। उनले भने, ‘म खुद्रा–खुद्रामा कुरा गर्न होइन, सबै समस्या पूरा गर्न आएको छु। सिंहदरबार जलायो भनेर भन्दै छन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि बदल्ने हो। बदल्ने हो।’

उनले देशमा विद्यमान राजनीतिक संस्कार, शासन प्रणाली र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गरे। पुराना दलले वर्षौँ शासन गरे पनि जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन नसकेको आरोप लगाउँदै लामिछानेले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ कार्यशैलीसहित रास्वपा अघि बढेको बताए।

‘देशमा समस्या धेरै छन्, तर समाधानको इच्छाशक्ति भए छोटो समयमै परिवर्तन सम्भव छ,’ उनले भने, ‘हामी सत्ता स्वार्थका लागि होइन, व्यवस्था सुधारका लागि राजनीतिमा आएका हौँ।’

चुनावी सभामा उनले रास्वपालाई अवसर दिन आग्रह गर्दै भने, ‘हामीलाई एक पटक मौका दिनुस्, सिंहदरबारको अनुहार मात्र होइन, देशको भविष्य बदलिएको देख्नुहुनेछ।’